परिचय
एकजना कुमालेले भाँडा बनाउनको निम्ति माटोलाई चक्कामा हाल्यो ।अनि उसले भाँडो बनाईसकेपछि त्यसलाई हेर्यो त्यो अति सुन्दर थियो । त्यो भाँडोले उसको सिपको महानता घोषणा गर्थ्यो। तर दु:खको कुरा, सजाउनको लागी राखेको ठाउँबाट एकदिन त्यो भाँडो आफैँ खस्यो । अनि कुमालेले फेरी त्यो फुटेको भाँडोलाई बनाउनको निम्ति त्यसलाई पानी हालेर मुछेर चक्कामा हाल्यो र नयाँ भाँडो बनायो । ताकि पुनः त्यो भाँडोले उसको सिपको महानता घोषणा गरोस्।
एफिसी २ः १–१०
’तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एक पल्ट चल्दैथियौ। तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूका निम्ित ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो (एफिसी २ः१–१०) ।
बुँदाहरु
१. परमेश्वरले अनुग्रहबाट बचाउनुभयो (८–९)
२. परमेश्वरको उद्देश्य पूरा गर्नलाई बचाउनुभयो (१०)
१. परमेश्वरले अनुग्रहबाट बचाउनुभयो (८–९)
तपाईंको बिचारमा, एक व्यक्तिले उद्वार कसरी प्राप्त गर्दछ ? के त्यो उद्वार उसको काममा आधारित छ ? तपाईंले यसो भन्नु होला, हो मानिसले विश्वास गरेपछि मात्र उद्दार पाउँछ यदि उसले विश्वास गरेन भने त कसरी उद्दार पाउन सक्छ र ? पक्कै पनि उद्धार विश्वासद्वारा नै पाईन्छ तर के त्यो विश्वास तपाई आफै सिर्जना गर्न सक्नुहुन्छ ? यदि तपाईले विश्वासलाई उद्दार पाउनको निम्ति आफ्नो तर्फको काम भनि सोच्दैहुनुहुन्छ भने, एफिसी २ अध्यायको १ पदमा तपाई ठेस लाग्नुहुन्छ । त्यहाँ यसो लेखिएको छ, ’तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यहाँनेर पावलले एफिसीको चर्चका विश्वासीहरुको येशू ख्रीष्टमा विश्वास गर्न अगाडीको अवस्थाको बारेमा कुरा गर्दैछन । यसबाट थाहा हुन्छ कि ख्रीष्टमा विश्वास गर्न अघि कुनै पनि व्यक्ति आत्मिक रुपमा पापमा मरेको हुन्छ । हामी एक समय यस्तै थियौँ । हाम्रो अवस्था पनि यस्तै थियो । के मरेको मानिसले देख्न, सुघ्न, बोल्न सक्छ ? पक्कै पनि यी मध्ये केहि पनि कार्य गर्न सक्दैन । अस्ति भर्खरैको घटना हो, एकजना बहिनिको दाहसंस्कारमा जाने मौका पाएको थिए । उनी मरेको तीन दिन पछि घरमा लास ल्याइयो । जब हामी लासलाई उठाएर चिहान तिर लादैथियो तब उनको आमा रुदै थिइन । तर उनी भने आमाको रुवाईलाई थाहा गर्न सकिनन् । न त उनको रुवाईलाइृ सुनेर प्रतिकृया दिन सकिन । येशूमा विश्वास गर्न पुर्व हाम्रो आत्मिक अवस्था पनि यस्तै थियो । We were dead in sins. हामी आत्मिकरुपमा पूर्णरुपमा मरेका थियौँ । हामी आफ््नै तरिकाले जीवन जीउथ्यौ । हाम्रा लागि त्यहि कुरा असल हुन्थ्यो जुन परमेश्वरले घृणा गर्नुहुन्थ्यो । हामी शरिर र मनका इच्छा पूरा गर्नलाई सधैँ तयार हुन्थ्यौ । किनभने पापले हामिहरुमा राज्य गरेको थियो । आत्मीक कुरा हामीहरुका अगाडी मुर्ख मात्र थिए । एफिसी २ः१, रोमी ८ः५–८, १ को २ः१४ त्यसकारण हामीहरु आफैँलाई आत्मिक जिवन दिन सक्दैनथ्यौ। हामी आत्मिक रुपमा मरेका कारण आत्मिक कुरा प्राप्त गर्ने चाहाना र शक्ति हामीमा थिएन । तितस ३ः५, युहन्ना ६ः४४, यर्मिया १३ः२३
तर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्धारा हामीलाई प्रेम गर्नुभयो । जसकारण जब हामी युहन्ना ३ः१–८ सम्म निकोदेमस सितको कुराकानीमा येशूले जब पवित्र आत्माले जन्म दिनुहुन्छ त्यसपछि मात्र एक पापमा मरेको मानिसले परमेश्वरलाई प्रतिकृया दिन सक्छ भन्ने कुरा प्रष्ट पार्नुहुन्छ । जसो युहन्ना १ः१२–१३ ले पनि स्पष्ट पार्दछ कि ति मानिसहरु जो जतिले उहाँलाई ग्रहण र विश्वास गरे तिनिहरुलाई परमेश्वरले आफ्नो सन्तान हुने अधिकार दिनुभयो तर ति मानिसहरु रगत वा शारिरिक इच्छाद्वारा जन्मिएको कारणले गर्दा नभई परमेश्वरबाट जन्मिएको कारणले गर्दा उहाँलाई ग्रहण र विश्वास गर्न सके । अर्को शब्दमा भन्नुपर्दा कुनै पनि मानिस जब सम्म पवित्र आत्माले नयाँ जन्म दिनुहुन्न तब सम्म उसले येशूलाई विश्वास गर्न सक्दैन । यसले के देखाउँछ भने कुनै पनि मानिसले उद्दार पाउनमा उसको कुनै हात हुँदैन । विचार गर्नुहोस के तपाईको आफ्नो जन्ममा तपाईको हात वा योगदान छ र ? पक्कै पनि छैन । त्यसकारण पावलले ८ पदमा किनभने शब्दबाट सुरु गर्छन । यस शब्दले कारणलाई जनाउँछ । यसको अर्थ यो भन्दा पहिले धेरै कुरा भनिसकेका छन् भन्ने कुरालाई जनाउँछ । ५ देखि ७ पदसम्म, पावलले अनुग्रहद्धारा उद्धार पाएका छौँ भन्ने कुरा बताएका छन् । यो हामीले आफ्नो कर्मद्धारा होइन, केवल अनुग्रहद्धारा पाएका छौँ भनेर बताउँछन् । उनले ८ पदमा फेरि च्झष्लम गराउँदै भन्छन् कि, अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
यसले के स्पष्ट पार्दछ भने, हाम्रो उद्धार केवल परमेश्वरको अनुग्रहबाट विश्वासद्धारा भएको हो । अब बुझ्नुपर्ने कुरा, यहाँ हाम्रो उद्धारको माध्यम के हो ? अनुग्रह हो कि विश्वास । पक्कै पनि विश्वास हो । विश्वास भनेको भरोसा हो । उदाहरणको लागि तपाईंले आपूmसँग भएको धन वा रुपैया सबै बैंकमा जम्मा गर्नुहुन्छ । यो भरोसामा कि, बैकमा पैसा राख्योभने सुरक्षित हुन्छ । यदि तपाईंमा त्यो भरोसा थिएन भने तपाईंले बैंकमा पैसा जम्मा गर्नुहुन्थ्येना । यसरी नै हामीले येशूमा गरेको विश्वासद्धारा हामीले उद्धार पाएका हौँ । त्यो भए विश्वास कसले दियो ? अथवा उहाँमा विश्वास गर्नुपर्छ भन्ने कुरा कसले हाम्रो ह्रदयमा राखिदियो ? स्वयम परमेश्वरले । विश्वासको दान उहाँले हामीलाई दिनुभयो । ताकि उहाँमा हामी भरोसा गर्न सकौँ । उहाँ नै हाम्रो पापको खातिर मर्नुभयो, गाडिनुभयो, र तेस्रो दिनमा बौरी उठनुभयो । र हामीलाई एक दिन लिन फेरी आउनुहुनेछ भन्ने कुराको निश्चयता (बककगचबलअभ) उहाँले हामीलाई दिनुभयो । यहि कुराले हामीलाई बचाउँछ । हामीलाई उहाँमा विश्वास गर्न लगाउनु नै उहाँको अनुग्रह हो । त्यसोभए अनुग्रह भनेको के हो ? यसको परिभाषाको बारेमा थाहा पाउनुभन्दा पहिले हामीले अनुग्रह के होइन भन्ने कुरा जान्न जरुरी छ । आज धेरै मानिसहरुले यसलाई गलत रुपमा परिभाषित गरेको पाइन्छ । अनुग्रह भनेको हामीलाई परिक्षामा पास हुनको लागि ३५ मार्क चाहिएको थियो भने हामीले ३३ मात्र ल्यायो । पास हुनको लागि २ नम्बर थप्यो भने त्यो अनुग्रह हो भन्छन् । तर त्यो होइन, अनुग्रहको साँचो अर्थ हामीलाई पास हुनलाई १०० मा ३५ चाहिन्थ्यो तर हाम्रो प्रयासमा हामीले ० मात्र ल्याउन सक्थौ तर हामीलाई १०० दिइयो भने त्यो अनुग्रह हो । अर्को शब्दमा भन्नुपर्दा हामी पापी भएकोले पापको ज्याला मृत्यु पाउने योग्यका थियौ तर परमेश्वरले हामीलाई मृत्युको सट्टा जीवन दिनुभयो जुन पाउन अयोग्य थियौ यो नै अनुग्रह हो । यो अनुग्रह हामीले विश्वासद्धारा पायौँ । पवित्र आत्माद्वारा हामीलाई नयाँ जन्म मात्र दिइएन तर पश्चाताप र विश्वास पनि दान स्वरुप दिइयो । त्यसैले हाम्रो कमाई, योग्यता क्षमाताद्धारा होइन केवल उहाँको अनुग्रहबाट हामीले उद्दार पाएका हौँ । त्यसकारण, यो केवल उहाँको एकल कार्य हो । उहाँको एकल अनुग्रह हो । उहाँले हामीलाई उद्धार एक दान स्वरुप दिनुभएको हो । हामीले आर्जन गरेको होइन । तर यो त दान हो । अब हामी घमण्ड यसमा गरौँ कि परमेश्वरले हामीलाई बचाउनुभयो (२ कोरिन्थी १०ः१७)। हामी नरक तर्फ लम्किरहेका थियौँ तर उहाँले आफ्नो अनुग्रहद्धारा बचाउनुभयो । धेरै मानिसहरुले यसो भनेको सुन्न पाइन्छ कि, मैले परमेश्वरलाई भेट्टाए । यो सरासर झुटो हो । तपाईंले परमेश्वरलाई भेट्टाउनु भएको होइन। उहाँले तपाईंलाई भेट्टाउनुभएको हो । उहाँले तपाईलाई प्रेम गर्नुभएको हो (१ यूहन्ना ४ः१९) । त्यसकारण, तपाईंको उद्धार सम्बन्धि बुझाइले तपाईंको जीवन जीयाइलाई प्रभाव पार्दछ । अब हामीले उद्दार परमेश्वरको एकल कार्य हो भन्ने सत्यता बुझिसकेपछि दोस्रो कुरालाई हेरौँ कि परमेश्वरले किन उद्दार गर्नुभयो त ?
बचनको दोस्रो बुँदा ।
२. परमेश्वरको उद्देश्य पूरा गर्नलाई बचाउनुभयो (१०)
१० पद हेरौँ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो ।
हामीले यो भन्दा अगाडी हेरिसक्यौ कि उद्दार हाम्रो कर्महरुद्वारा नभई परमेश्वरको अनुग्रहबाट विश्वासद्वारा भएको छ। पावलले यहाँनेर यो सत्यता बताउँछन कि परमेश्वरले उद्दार पाएका मानिसहरु असल कामका निम्ति सृजना गरिएका हुन । अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले यसकारण उद्दार गर्नुभयो कि ताकी उनिहरु असल कामहरु गरुन । यो असल काम उद्धार पाउनको निम्ति नभई उद्दार पाएको मानिसको फल हो । त्यसकारण पावलले पद १० मा किनकि भन्ने संयोजक बाट शूरु गर्छन जसले तपाई र मलाई उद्दार गर्नुको कारणलाई बताउँछ । एउटा उदाहरणरलाई हेराँै, तपाईले कुनै तस्बिर गराउनुभयो अनि त्यसलाई तपाईले चित्रकला केन्द्रमा राख्नुभयो भने, जति मानिसहरुले तपाईको तस्बीर त्यहाँ हेर्नेछन । ति मानिसहरुले तपाईको महानतालाई त्यस तस्बीरमा देख्दछन र तपाईको सिपको प्रशंसा गर्नेछन । यसरी नै परमेश्वरले हामीलाई सिर्जना गर्नुभयो ताकि उहाँको महानता हामीद्वारा प्रतिविम्बित हुन सकोस । जसो यशैया ४३ः७ मा पनि उहाँले मानिस बनाईनुको उद्देश्य उहाँको महिमाको निम्ति हो भन्ने कुरालाई स्पष्ट पार्नुहुन्छ । वास्तवमा, आदम परमेश्वरको महिमा प्रदर्शन गर्न बाट चुके, त्यसको सट्टा उनले अज्ञाकारि गरेर पाप प्रवेश गराई आफुलाई कुरुप बनाए । तर परमेश्वरले फेरी पनि मानिसले परमेश्वरको महिमालाई पर्दशन वा प्रतिविम्बित गरोस भनेर पापको दासत्वमा भएको मानिसलाई येशू ख्रीष्टद्वारा छुटकारा दिनुभयो । एउटा नयाँ जन्म पाएको व्यक्ति ( साँचो विश्वासी ) एफिसी ४ः२४ अनुसार साँचो धार्मिकता र पवित्रता अनि कलस्सी ३ः१० अनुसार ज्ञानमा नयाँ स्वभाव पनि पाउँछ भने प्रश्नहरु उठ्छ कि के तपाईले येशूमा विश्वास गरिसकेपछि नयाँ स्वभावमा जिइरहनुभएको छ ? के तपाईलाई परिवार, साथीभाई, समाजले पापमय कुरालाई घृणा गर्ने तर पवित्रतालाई प्रेम गर्ने व्यक्तिको रुपमा चिन्दैछन ? के तपाईमा उनिहरुले गलाती ५ः२२–२३ मा भएका पवित्र आत्माका फलहरु देखिरहेका छन ? प्रिय हो, तपाईहरु कति स्कुल कलेजमा पढ्ने विद्यार्थीहरु हुनुहुन्छ होला के तपाई आफ्नो स्कुलमा ख्रीष्टको साँक्षी दिने व्यक्तिको रुपमा चिनिदै आउनुभएको छ ? के तपाई जुन क्षेत्रमा संलग्न हुनुहुन्छ त्यहाँ अख्रीष्टियान मानिसहरुले तपाईलाई क्षमाशिल, प्रेमिलो, मिलापको सेवा गर्ने, नम्र अनि खराब कुरामा सहभागी नहुने व्यक्तिको रुपमा चिन्दै आईरहेका छन ? यी जति पनि पश्नहरु छन यी कुराले हामीलाई चुनौती दिन्छन कि यदि हामी साँचो विश्वासी हौँ भने पवित्रआत्माले हामीलाई नयाँ स्वभावमा दिनहुँ जिउनको निम्ति सहायता गर्नुहुन्छ ।
अन्त्यमा, सुरुमा मैले तपाईहरुलाई कुमाले र माटोको भाँडोको कुरा गरेको थिए । जहाँ माटोको भाँडो फुटेपछि, त्यसलाई पानी हालेर मुछेर चक्कामा हाली बनाउने काम कुमालेले ग¥यो । जसमा त्यो भाँडो बन्नको निम्ति त्यो भाँडोको कुनै भुमिका रहेन । त्यस्तै, हाम्रो उद्धार परमेश्वरको उपहार वा दान हो। हामीले उद्दार पाउनुमा हाम्रो कुनै हात छैन । हामीले परमेश्वरको अनुग्रहबाट विश्वासद्धारा उद्धार पाएका छौँ । उहाँमा विश्वास गर्न सक्ने बनाउने उहाँको दान हो । उहाँले हामीलाई आफ्नो महिमा गर्नको लागि पहिले नै तयार गर्नुभएको थियो ।



